काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटाको श्रीमतीमार्फत दिएको उजुरीमा उल्लेखित विषयको वास्तविकता सार्वजनिक गर्न प्रधानमन्त्री बालेन शाहसँग माग गरेका छन्। सामाजिक सञ्जालमार्फत आज प्रश्न उठाउँदै शर्माले कांग्रेस सभापति गगन थापालगायत व्यक्तिविरुद्ध बयान दिए छोडिदिने र नदिए फसाइदिने भनी उजुरीमा आएको दाबीबारे स्पष्ट पार्न आग्रह गरेका हुन्।

‘काँग्रेस सभापति गगन थापा लगायत डट डट व्यक्तिहरूविरुद्ध बयान दिए छोडिदिने ,नत्र फँसाइ दिने ! इनम सापकोटाको श्रीमतीको उजुरीमा उल्लेखित बिषयको वास्तविकता के हो प्रधानमन्त्रीजी ?’ उनले प्रश्न गर्दै भने,‘मानवअधिकार आयोगमा उनले दिएको उजुरी झुठो हो कि स्वयं राज्यको आडमा अपराधका डिजाइनहरू क्रमशः एकपछि अर्को बन्दैछन् ?

पारदर्शिता लोकतन्त्रको आधारभूत स्तम्भमध्ये एक भएको उनको भनाई छ। वास्तविकता जे हो त्यस उपर अब निष्पक्ष र पारदर्शी छानबिन गराउन संसदले अग्रसरता लिन जरुरी रहेको शर्माले बताए। ‘इनम प्रकरणलाई `सस्पेन्स थ्रिलर फिल्म´ का रुपमा होइन, बिचौलिया इनम र निजको कर्मसँग जोडिएका सम्पुर्ण सत्यतथ्य जान्न पाउने हक नागरिकलाई छ।’ शर्माले लेखेका छन्।‘षड्यन्त्रका पत्रहरु क्रमशः खुल्दैछन् , अब पर्दा पुरै च्यातिनुपर्छ । वास्तविकता जे हो त्यस उपर अब निष्पक्ष र पारदर्शी छानबिन गराउन संसदले अग्रसरता लिन जरुरी छ ।’

आफू र आफ्नो परिवारको जीवन रक्षाको माग गर्दै सापकोटाले आफ्नी श्रीमती कविता पाण्डे (सापकोटा) मार्फत राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गराएपछि नयाँ ट्विस्ट सार्वजनिक भएको हो।