काठमाडौं - इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले शनिबार २३७ किलो लागूऔषध गाँजा बरामद गरेको छ ।

बाराको पथलैयामा रोक्न खोज्दा तिव्र गतिमा भागेको बा१७च २६३६ नम्बरको गाडीलाई पछ्याउँदै प्रहरी गाँजा बरामद गर्न सफल भएको हो । अमलेखगञ्जबाट आउँदै गरेको कार पथलैयाबाट पूर्वतर्फ फरार भएलगत्तै इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टको नेतृत्वको प्रहरी टोलीले उक्त कारलाई पछ्याएको थियो ।

प्रहरीले पछ्याएपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका-१ स्थित दुधौरा पुल नजिकको सडकमा कार छोडेर चालक जंगलतर्फ भागेका हुन् । कारबाट गाँजा बरामद भएपछि डीएसपी भट्टको नेतृत्वमा रहेको २२ जनाको प्रहरी टोलीले जंगलमा सर्च गरेको थियो । सो क्रममा एक थान मोबाइल फेला परेको छ ।

इटेल कम्पनीको उक्त किप्याड मोबाइल चालकको हुनसक्ने आशंका गरिएको छ । डीएसपी भट्टका अनुसार कारको पछाडिको डिकीमा रातो प्लास्टिकले बेरेर राखिएको अवस्थामा २३७.१७ किलोग्राम गाँजा फेला परेको छ ।

गाँजा र गाडी नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिमरामा राखिएको र चालकको खोजी भइरहेको डीएसपी भट्टले जानकारी दिएका छन् ।