काठमाडौं - जय मातृभूमि पार्टीले एक प्रेश विज्ञप्ति जारी गरी देशको समसामयिाक विषयमा पार्टीको धारणा राख्दै बिज्ञप्तिमा उल्लेख गरेको छ । “ नेपालको साबिक २६७,५७५ वर्ग किमि जमिनको करिब ४५ प्रतिशत (१२०,०५९ वर्ग किमि) बृटिश इन्डियाले हड्पेर १४७,५१६ वर्ग किमिमा सीमित गरेको सुगौली सन्धि अनुसार काली पूर्वको भूभाग नेपालको हो । त्यही अनुसार नेपालले आफ्नो सुदूर पश्चिमोत्तर क्षेत्र (दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी) मा मालपोत उठाउने, जनगणना लिने जस्ता आफ्ना नियमित शासकीय जिम्मेवारी निर्वाह गर्दै आइरहेकोमा सन् १९६२ को चीन–इण्डिया युद्धताका त्यस क्षेत्रको ३७० वर्ग किमि भूभाग मध्ये नेपाल सरकारको सहमतीमा केही समयको लागि कालापानी क्षेत्र लिएतापनि इण्डियन सेना प्रवेश पछी अनधिकृत रुपमा जबर्जस्ती इण्डियाले कब्जामा राखेको छ । युद्ध अन्त्य भएको ६४ वर्ष व्यतित हुँदा पनि अझैसम्म इण्डियाले अटेर गरी त्यो क्षेत्र नछाडेको, नेपालीलाई सो क्षेत्रमा जान समेत रोक लगाएको र इण्डियन सेना तैनाथ गरी धम्काएको, कालापानीतिर सानो तुरतुरे खोल्सा खनी कृत्रिम मौलो बनाई “ऊ त्यही हो, तिमीहरुको काली नदी र तिमीहरुको देवी काली“ भन्दै नेपालीको घाउमा नुनचुक लगाउने गरेकोमा पछिल्लो समयबाट अझ त्यहाँ आफूखुसी सडक निर्माण तथा प्रयोग गरिरहेको अवस्था छ ।”
यसरी, नेपालले आफ्नो भूमि नपाउनु इण्डियाको हेपाहा, लुटेरा र हिन्दी फिल्ममा देखाए जस्तै डाँका प्रवृत्तिको वास्तविक चित्रण हो । यसै सन्दर्भमा, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्दै राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी समानता र पारस्परिक हितको आधारमा विगतका सन्धि सम्झौताहरुको पुनरावलोकन गर्न तथा लुटिएको भूमि फिर्ता गर्न प्रधानमन्त्रीको यही मंसिर ६–७ मा भएको इण्डिया भ्रमण पूर्व यस पार्टीद्धारा मंसिर ३ मा जारी विज्ञप्ति मार्फत यस पार्टीले सरकारलाई सजग गराएकोमा “सीमा सम्बन्धी बाँकी मामिलामा कार्य गर्न दुबै देशका परराष्ट्र सचिवहरुलाई निर्देशन दिइयो” भन्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र र तराईमा मिचिएको सुस्ता लगायतका नेपालको प्रमुख सीमा समस्यालाई कहीँ कतै उल्लेख नगरी नेपालका प्रमुख समस्यालाई तिरस्कार गर्दै, केही अनुदानको चारो फाल्दै, नेपालले धान्न नसक्ने व्याजी इण्डियन एक्जिम बैंकको ऋणको बोझ बोकाउने नियत राख्दै नेपालको जलश्रोत कब्जा गरेको, इण्डियन कम्पनीहरुलाई जति ढिलो भएपनि उनीहरुलाई काम गर्न सहजीकरण गर्नु पर्ने नियत राखी नेपालको नियमन व्यवस्थाको अवमूल्यन गर्नु, आफ्नो हित अनुरुप बाहेकका कार्यको कार्यान्वयन अडकाइ राख्ने नियतले योजना ल्याउने जस्तो कार्यले देश, नागरिक र अर्थतन्त्रको भलो नहुने निश्चित छ । नेपाल–इण्डिया विज्ञ समूह (भ्एन्) को प्रतिवेदन बुझ्ने र कार्यान्वयन गर्ने त कुरै छोडौँ संयुक्त विज्ञप्तिमा यसको नाम समेत उच्चारण नहुनु तथा इण्डियन विदेश सचिवले यसको सन्दर्भ सकिएको छ भन्नुले सन् १९५० को शान्ति र मैत्री सन्धिका केही बुँदाहरु लगायत अन्य असमान सन्धि सम्झौता नेपालको पक्षमा परिमार्जन हुने लक्षण देखिएन ।
त्यसैले, परनिर्भरतावाद, लम्पसारवाद र लेण्डुपवाद हाबी गराउने यो ग्राइन डिजाइनमा फस्न पुगेका कथित नयाँ सत्तासीन विदेशीको डिजाइनमा यति छिटो स्खलित हुनु नेपालको दुर्भाग्य र जेन—जी पुस्ताको सहादतको अवमूल्यन सिबाय अरु केही होइन । पुराना भू–राजनीतिक तनाव र धङधङीबाट मुक्त भई राष्ट्रको पक्षमा काम गर्नु पर्नेमा पुरानै पदचापलाई पछयाउदै नेपालमाथी गद्धारी भएको महशुस हुन्छ । तसर्थ, यस्ता प्रवृत्तिको विरोधमा यस पार्टीले अघि सार्ने विषय–वस्तु प्राप्तिको संघर्षमा पार्टीलाई साथ, सहयोग र समर्थन गर्न तथा पार्टीले आयोजना गर्ने विरोध कार्यक्रममा होस्टेमा हैसे गर्न जनता जनार्दनलाई हार्दिक अनुरोध र अपिल गर्दै यो विज्ञप्ति जारी गरिएको छ ।” विज्ञप्तिमा पार्टीका अध्यक्ष रामशरण पाण्डेले हस्ताक्षर गरेको छ । पार्टीले देशको समसामयिक विषयमा समय परिस्थिति अनुसार राज्यमा रहेका सत्तासिनलाई राष्ट्रवादी पार्टीको हैसियतले समयम समयमा घच्घच्याउदै आएको छ ।



0 comment