काठमाडौं - विस्तृत शान्ति सम्झौता भएको दुई दशक बित्दासमेत द्वन्द्वपीडितले सत्य, न्याय र परिपूरण पाउन नसकेको भन्दै राजनीतिक दलका नेता, मानव अधिकारकर्मी र सहिद परिवारले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

काठमाडौँमा आयोजित एक अन्तर्क्रियामा बोल्दै वक्ताहरूले वर्तमान सरकार शान्ति सम्झौता र सङ्क्रमणकालीन न्यायका बाँकी काम टुङ्ग्याउन उदासीन देखिएको आरोपसमेत लगाएका हुन्।

कार्यक्रममा एमालेका नेता प्रदीप ज्ञवालीले शान्ति प्रक्रियाले दशक लामो सशस्त्र द्वन्द्व अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, संविधान निर्माण, सेना समायोजन र राज्यको पुनःसंरचना जस्ता ऐतिहासिक उपलब्धि हासिल गरेको बताए। यद्यपि, सङ्क्रमणकालीन न्यायमा अत्याधिक ढिलाइ भएको उनले स्वीकार गरे।

नेता ज्ञवालीले वर्तमान बालेन नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शान्ति सम्झौता र संविधानप्रतिको दायित्वबाट राज्य पन्छिन नमिल्ने बताए। उनले भने,‘सरकार आफैँमा अविच्छिन्न उत्तराधिकारवाला संस्था हो। सरकार परिवर्तन भयो, मैले शान्ति सम्झौता र संविधान चिन्दिनँ भन्न मिल्दैन। आज यो सरकार पीडितका कुरा सुन्दैन र सङ्क्रमणकालीन न्यायको विषय यत्तिकै अलपत्र पर्ने ठूलो जोखिम बढेको छ।’ 

बलात्कार तथा यौनजन्य हिंसा, क्रूर यातना, व्यक्ति बेपत्ता पार्ने कार्य र गैरन्यायिक हत्यामा कुनै पनि हालतमा क्षमादान नहुने सहमति भइसकेकाले अब ढिलाइ गर्न नहुनेमा उनले जोड दिए।

संविधान र लोकतान्त्रिक उपलब्धि नै संकटमा

नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले सत्तामा पुगेपछि सहिद र पीडितका सपना बिर्सने प्रवृत्तिले संविधान र लोकतान्त्रिक उपलब्धि नै सङ्कटमा परेको बताए। ओखलढुङ्गाका गुरु लुइँटेल लगायत सहिदहरूको बलिदान स्मरण गर्दै उनले वर्तमान सरकार अध्यादेश र स्वेच्छाचारिताको बाटोमा हिँडेको आरोप लगाए। 

खतिवडाले भने,‘संविधानले चिनेका मान्छेले शासन गरेका छैनन्, संविधानले नचिनेका व्यक्तिहरूले शासन गर्ने पद्धतिको विकास भएको छ। दण्डहीनता अन्त्य गर्न हिजो संविधान बनाउने लोकतान्त्रिक शक्तिहरू फेरि एकताबद्ध हुन जरुरी छ।’