काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘हामी तयार छौं अभियान’ अन्तर्गत स्थानीय तहका प्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै थापाले विगतदेखि अनुसन्धानका क्रममा थन्किएका सबै फाइलसमेत अघि बढाउन सरकारलाई आग्रह गरे ।

उनले सम्पत्ति छानबिन र भ्रष्टाचारसम्बन्धी अनुसन्धान कानुनअनुसार हुनुपर्नेमा जोड दिँदै गलत गर्ने जोसुकै भए पनि कारबाही हुनुपर्छ भन्ने पक्षमा कांग्रेस रहेको बताए । तर, राजनीतिक पूर्वाग्रह राखेर निर्दोष व्यक्तिलाई दुःख दिने कार्य स्वीकार्य नहुने उनको भनाइ थियो ।

थापाले यही मापदण्ड राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत सबै दलका नेता तथा सार्वजनिक पदाधिकारीको हकमा समान रूपमा लागू हुनुपर्ने बताए ।