काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले मुलुकको उपलब्धि र जनताको अधिकारमाथि प्रहार गरिरहेको आरोप लगाएका छन्।

नेकपा उपत्यका प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले नयाँ बनेको भनिएको सरकारले विगतका आन्दोलन र बलिदानबाट प्राप्त समावेशिता र प्रतिनिधित्वका अधिकारमा प्रहार गरिरहेको आरोप लगाएका हुन् ।

मजदुर, सुकुम्बासी, कर्मचारी, विद्यार्थी, शिक्षकसँगै सुरक्षा निकाय र न्यायपालिकामा समेत अन्योल, त्रास र दबाबको वातावरण देखिएको उनको भनाई छ।

उनले तत्कालको मात्र नहेरी दीर्घकालीन दृष्टिकोणसहित देशभित्र संयुक्त मोर्चा र देशभक्त शक्तिहरूको सहकार्य आवश्यकतामा जोड दिए । त्यस्तै प्रचण्डले नेपालमा वामपन्थी जनमत ठूलो भएपनि त्यसलाई एकताबद्ध नगरी समाजवादको ढोका खोल्न नसकिने उल्लेख गरे ।

अघिल्लो एकता जोगाउन नसकिए पनि साना–ठूला कम्युनिस्ट घटकलाई जोड्ने र सकारात्मक तथा रचनात्मक संवादबाट अन्य पक्षलाई समेत एकता र ध्रुवीकरणमा ल्याउने प्रयास जारी रहेको उनले बताए।

उनले विचार,राजनीति र सिद्धान्तमा एकरूपता कायम गर्दै एकताको झन्डामा केन्द्रित हुने दिशामा सहकार्य र संवाद भइरहेको जानकारी दिए।