काठमाडौं - गत साउनयता चितवनमा दुई सय २९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ ।

सङ्क्रमित मध्ये खैरहनी नगरपालिका- २ मा एक ६० वर्षीया महिलाको गत भदौमा मृत्यु भएको जिल्ला जनस्वस्थ्य कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जिल्लाका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका एक हजार ८१५ बिरामीको परीक्षणका क्रममा २५९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

 सङ्क्रमित मध्ये १३० जना चितवनका रहेका छन भने १२९ जना जिल्लाबाहिरका रहेको उहाँले बताउनुभयो । 

गत आर्थिक वर्षमा ७६२ जनाको परीक्षणका क्रममा २४८ जनामा स्क्रब टाइफस देखिएको थियो । यो रोग मुसा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । 

यसबाट संक्रमण भएमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, बान्ता, पेट दुखाइ र पखालाले सताउने, सास फेर्न समस्या हुने, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दाग जस्ता लक्षण देखिने गर्दछन् ।

यस रोगबाट बच्न खेत, झाडी वा वन जङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने, शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेतबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने पट्टेलले बताउनुभयो ।