काठमाडौं - असोज १८ र १९ गते नेपालमा एसियाकै ठूलो रग्बी प्रतियोगिता एशिया इमिरेट्स रग्बी सेभेन्स ट्रफी आयोजना हुने भएको छ ।

एशिया रग्बीको आयोजना र नेपाल रग्बी सङ्घको व्यवस्थापनमा नेपालमा प्रतियोगिता हुन लागेको हो ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने प्रतियोगितामा एशियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

नेपालमा एशियाली स्तरको सिनियर रग्बी प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो ।

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी- २०२४ का लागि एसिया रग्बी का अध्यक्ष कायस अल धलाई पनि नेपाल आउँने जनाईएको छ ।

प्रतियोगिताको विजयी महिला तथा पुरुष टोलीले एशिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् ।

नेपाली टिम सन् २०१६ देखि एशिया रग्बीमा सहभागी हुँदै आएको छ । गएको वर्ष कतारमा सम्पन्न भएको प्रतियोगितामा नेपालको पुरुष टोलीले साउदी अरेबिया र कीर्गिस्तानलाई हराएको थियो।