काठमाडौं -  सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल- ३ पाँच पोखरीमा प्रथम पाँचपोखरी महिला म्याराथन हुने भएको छ ।

आगामी कात्तिक २ गते पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी कुण्डबाट रैथाने सम्म २८ किलोमिटर लामो म्याराथन हुने आयोजक विश्व समावेश साहसी संस्थाकी सल्लाहकार माया गुरुङले बताउनुभयो ।
  
स्वदेशी तथा विदेशी महिलाको सहभागितामा हुने म्याराथनमा प्रथम हुनेले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । 

दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेले समेत शिल्ड, मेडल र प्रमाणपत्र सहित क्रमशः २५ हजार, १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार पाउने गुरुङले बताउनुभयो।

दौडमा सहभागिता जनाउन नेपाली महिलाले पाँच सय र विदेशी महिलाले पाँच डलर दर्ता शुल्क बुझाउनुपर्ने छ । म्याराथन सहित सोही समयमा ‘मास ट्रेकिङ’ पनि हुनेछ ।

“वर्षमा कम्तीमा एक पटक ट्रेकिङ जाउँ, पर्यटन प्रवर्द्धन गरौँ”, भन्ने  नाराका साथ मास ट्रेकिङ आयोजना गरिएको हो ।

मास ट्रेकिङमा सहभागी हुने नेपालीले १३ हजार पाँच सय र विदेशीले दुई सय डलर तिर्नुपर्नेछ ।

दसै तिहारको बिदामा घुम्न जान चाहनेहरूलाई लक्षित गरि ट्रेकिङ आयोजना गरिएको गुरुङले बताउनुभयो ।