काठमाडौं - राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगितामा चन्द्रा भण्डारीको ‘ह्याट्रिक’ मा वालिङ नगरपालिकालाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आज भएको खेलमा आर्मीले वालिङ नगरपालिकालाई ८- ० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । 

आर्मीका लागि चन्द्राका साथै विमला विक र अमिशा कार्कीले समान दुई- दई गोल गरे भने एक आत्मघाती गोल भएको थियो ।

खेलको ३८ औँ मिनेटमा विमलाले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाइन् । त्यसपछि खेलको ४२ औँ मिनेटमा चन्द्राले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाइन् । 

उनले गोल गरेको दुई मिनेट बित्न नपाउँदै वालिङ नगरपालिकाकी खेलाडीले आत्मघाती गोल गरिन् ।

खेलको पहिलो हाफमा ३- ० गोलअन्तरले अगाडि रहेको आर्मीले खेलको दोस्रो हाफमा पाँच गोल थप्यो ।

खेलको ५४ औँ मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गरिन् भने उनैले खेलको ७३ औँ मिनेटमा एक गोल थप्दै ह्याट्रिक पूरा गरिन् । 

त्यसैगरी, अमिशा कार्कीले ६१ औँ र ७१ औँ मिनेटमा गोल गरिन् । विमलाले खेलको ९० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । 

खेलमा चन्द्रा ‘प्लेयर अफ दी म्याच’ समेत घोषित भइन् ।

जितसँगै आर्मीले आठ खेलबाट १९ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । समान आठ खेल खेलेको वालिङ १२ अङ्कका साथ अङ्क तालिकाको चौथो स्थानमा छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न दश टोलीको सहभागिता रहेको छ ।