काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । 

लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धि पछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव नेपाली बजारमा परेको हो । 

आज तोलामा सुन एक हजार सात सयले वृद्धि भएको छ। शुक्रबार प्रतितोला एक लाख ५७ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि  एक लाख ५८ हजार ८ सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

असोज १ गतेको तुलनामा आजको मूल्यसूची अनुसार छापावाला सुन तोलामा दुई हजार एक सयले वृद्धि भएको छ । 

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको छ । आज चाँदी तोलामा एक हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।