काठमाडौं - धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ ९.६२ अङ्कले घटेर दुई हजार ६०३ दशमलव ७१ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य एक अङ्कले घटेर ४६६ दशमलव ६५ मा पुगेको छ । फ्लोट सूचक शून्य दशमलव ६१ अङ्कले घटेर १७९ दशमलव ४६ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ४३ अङ्कले घटेर १५७ दशमलव ४४ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर रु  चार अर्ब ६५ करोड ४८ लाख ७८ हजार ४५ मूल्यमा खरिद बिक्री भएको छ । आज निर्जीवन बिमा र अन्य उपसमूहको सेयर मूल्य बढेको छ भने बाँकी ११ उपसमूहको मूल्य घटेको हो ।

आज ६९ कम्पनीको सेयर बढेको छ भने १९९ कम्पनीको सेयर घटेको र १० कम्पनीको सेयर मूल्य स्थिर छ । नेप्सेका अनुसार आईसिएफसी फाइनान्स डिबेञ्चर, सयपत्री हाइड्रोपावर, नेपाल एसबिआई डिबेञ्चरलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, आरबिबी म्युचुअल फण्ड, मेगा म्युचुअल फण्डलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।