काठमाडौं - कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्य प्रदेश सरह संघीय सरकारले बाँडफाँड गर्ने राजश्व कर्णालीका लागि न्यायोचित नभएको बताउनु भएको छ । 

आज सुर्खेतमा आयोजित संघीय सबलिकरण सम्बन्धि प्रदेशस्तरिय कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले भुगोल र पिछडिएको प्रदेशका रुपमा रहेको कर्णालीलाई संघीय सरकारले अन्य प्रदेश सरह राजस्व बाँडफाँड गर्दा न्यायोचित नहुने बताउनु भएको हो । 

उहाँले संघीयता कार्यान्वयन महत्वपूर्ण पक्षको रुपमा रहेको वित्तिय संघीयताको विषयमा संघीय सरकार थप उदार हुनुपर्नेमा जोड दिनुभयो । 

संघीयतापछि प्रदेशमा नागरिकका अपेक्षा र आवश्यकता बढेका बताउँदै उहाँले आम्दानीको अवस्था भने न्यून रहेकाले संघीय सरकारले दिने कार्यक्रम र अनुदानलाई बढाउनै पर्ने बाध्यता रहेको बताउनु भयो । 

पछिल्लो समय संघीय संरचनामाथि विभिन्न हिसाबले प्रश्नहरु खडा भइरहेको तर्फ संकेत गर्दे उहाँले केही कमीकमजोरी भएपनि अहिले नै संघीयताको विषयमा पुर्नविचार गर्ने बेला भइ नसकेको जिकिर गर्नुभयो ।