काठमाडौं - मनाङको प्रवेशद्वार आगन तालगाउँ खेलाडी र कलाकारले भरिभराउ भएको छ । आजदेखि आयोजना हुने मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न प्रतिष्ठित खेलाडी र कलाकारहरू तालगाउँ पुगेका हुन् । 

मनाङमा हिउँचितुवा र याकको संरक्षण तथा पर्यटन प्रवर्द्धनमा दिगो विकास गर्ने उद्देश्यले आयोजित खेलमा भाग लिन देशका विभिन्न भागबाट कलाकार तथा खेलाडीको आगमन भएको पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले जानकारी दिनुभयो ।

विभिन्न सङ्घसंस्थाका साथै स्थानीय तह,  खेलाडी, कलाकार, स्थानीयवासीको सहयोगमा चेतना फैलाउन गत वर्षदेखि प्रतियोगिता आयोजना गरिएको हो । 

चामे गाउँपालिका- ५ का स्थानीय फुर्वा लामाले कार्यक्रमपछि जिल्लामा केही प्रभाव परेको बताउनुभयो । उहाँले विभिन्न सङ्घसंस्थाको सहकार्य मार्फत सञ्चालित चेतनामूलक कार्यक्रमले  स्थानीयलाई सचेत तुल्याएको बताउनुभयो ।

जैविक विविधता संरक्षण समाज नेपाल र एन्ट फाउन्डेसनको संयुक्त आयोजनामा चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाको सहकार्यमा विभिन्न सङ्घसंस्था, राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, संरक्षण क्षेत्र व्यवस्थापन समिति, खेलकुद विकास समिति, जिल्ला फुटबल सङ्घको सहयोगमा जिल्लाका विभिन्न स्थानमा ‘हिउँ चितुवा र याकको लागि सँगसँगै’ भन्ने नाराका साथ मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो ।