काठमाडौं - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने हुनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बत्रुभएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो । 

सत्ता गठबन्धन परिवर्तन भएसँगै साउन ११ गते सरकारबाट बाहिरिएको माओवादी केन्द्रले यही भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।

कोशी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेतृत्वमा काँग्रेस सहितको सरकार बनेको छ । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो । 

कोशी प्रदेशसभामा ९३ सदस्य छन् । जसमा एमालेका ४० र कांग्रेसका २९ सदस्य रहेका छन् । 

यस्तै माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का चार र जसपाका एक सांसद छन् । 

गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले पहिलोपटक वैशाख  ३१ गते विश्वासको मत लिनुभएको थियो । 

असोज २ गते दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने कार्यतालिका छ ।