काठमाडौं - खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरेको छ । 

नगरपालिकाले वि.सं २०७८ मा ‘दिरुम ज्ञानमाला’ नामक स्थानीय पाठ्यक्रम प्रकाशन गरी कार्यान्वयनमा ल्याएको थियो । 

हाल उक्त पाठ्यक्रमलाई परिमार्जन गरी वडास्तरमा छुट्टाछुट्टै विषयवस्तु समावेश गरेर तयार पारिएको स्थानीय पाठ्यक्रम लागू गरेको हो ।

नगरपालिकाका हरेक वडामा आ- आफ्नै विशेषता समेटिएको विषयवस्तु पढाउने गरी फरक- फरक आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । 

नयाँ पाठ्यक्रमले विद्यार्थीलाई आफ्नो ठाउँ अनुसारको भाषा, संस्कार- संस्कृति तथा प्राकृतिक स्रोतसाधन बारेमा ज्ञान दिने उहाँले बताउनुभयो ।