काठमाडौं - नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान संशोधन गर्दा समावेशी सहभागितालाई नहटाइने प्रष्ट पार्नुभएको छ ।

संविधान संशोधन गरेर समावेशी सहभागिता हटाइन्छ भन्ने माओवादी केन्द्रको आरोपलाई खण्डन गर्दै समावेशी सहभागिता सुनिश्चित हुने गरी संविधान संशोधन गरिने महामन्त्री शर्माको भनाइ थियो ।

नेपाली काँग्रेस बागमती प्रदेशस्तरीय कार्यक्रममा महामन्त्री शर्माले विपी कोइराला प्रधानमन्त्री हुँदा समावेशीताको जग हालेको नेपाली काँग्रेसले समाबेशीतालाई अंगिकार गर्ने बताउनुभयो ।

 नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले नेपाली काँग्रेस सिद्धान्त र विचारमा अडिने पार्टी भएको उल्लेख गर्नुभयो ।

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले जनताको घर दैलोमा पुगेर जनताको सेवा गर्दै समस्या समाधानका लागि काम गर्नुपर्ने सभापति बानियाँको भनाइ थियो ।

 स्थानीय तहको निर्वाचन सकिएको  करिब  दुई  बर्षपछि नेपाली काँग्रेसले निर्वाचन समीक्षा सुरु गरेको हो ।

स्थानीय तह समन्वय विभागको आयोजनामा बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुर जिल्लाबाट २०७९ सालको स्थानीय तह निर्वाचनको समीक्षासहित काँग्रेसले अन्तरसंवाद कार्यक्रम सुरु गरिएको हो ।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख नेपाली काँग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र उम्मेदवार समेतको सहभागितामा अन्तरसंवाद कार्यक्रम गरिएको हो ।