काठमाडौं - काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच फेसबुक वार चलिरहेका बेला नगर प्रमुख बालेन्द्र शाहलाई मनपरी बोल्ने केटो भन्दै कटाक्ष गरेका छन् । 

कार्यकर्ताहरूलाई प्रशिक्षण दिने कार्यक्रममा बोल्दै उनले त्यस्तो कटाक्ष गरेका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘अहिले कहाँबाट एउटा केटो निस्कियो, त्यसले मनपरी बोल्छ, त्यसलाई चाहिँ चलाउनुहुँदैन है, त्यसलाई चलाउनुहुँदैन रे, त्योसँग जनमत छ रे ! नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापित हुन्छ । देखिसक्यौँ त हामीले, बोक्नेले बोकेकै छ त । बोकेको बिरालोले मार्ने हो कि होइन तर बिरालो काँधमा बोकेको छ, यतातिरबाट गोली हानेर मृग मार्‍यो भने बिरालोले मृग मा¥यो भन्दै चलाइदिन्छ । त्यसकारण हामीले भ्रमबाट मुक्त हुनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले एमाले अहिले प्रचारमा कमजोर भएको भन्दै असन्तुष्टि समेत पोखे । उनले एमाले जत्रो अरू पार्टी नभएको, एमालेको जति अरूसँग कार्यकर्ता पनि नभएको, सबैको हात हातमा मोबाइल भए पनि पार्टीको प्रचारका लागि प्रयोग नभएको गुनासो गरे । पार्टी कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा प्रधानमन्त्री ओलीले सबैभन्दा धेरै कार्यकर्ता भएको पार्टी तर सबै भन्दा कम प्रचार हुँदा हामी सानो हो भन्ने भ्रम फैलिएको प्रति सबै जना चनाखो हुन जरुरी रहेको बताए । 

प्रधानमन्त्री ओलीले आन्तरिक रुपमा बलियो बन्न सकियो भने आगामी ८४ मा हामी एक्लैले बहुमत लिएर सरकार बनाउने र जनताका माग पूरा गर्ने कुरा पनि उल्लेख गरे । अनाआवश्यक भ्रम पालेर बस्नु भन्दा आफूसँग भएको प्रविधिको प्रयोग गरी पार्टीले गरेका काम व्यापक बनाउनु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।