काठमाडौं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको स्थिरताकालागि काँग्रेस र एमाले गठबन्धन गरिएको बताउनु भएको छ ।
उत्कृष्ट पालिकाका प्रतिनिधिहरुको सम्मान गर्न स्थानीय तह समन्वय बिभागले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले संयमताका साथ आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्न जनप्रतिनिधि र कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको हो ।
कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ्गले स्थानीय तह बलियो भएमा मात्र सरकार बलियो हुने बताउदै नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले जनतामुखी भएर काम गर्न आग्रह गर्नुभयो ।
यसैगरी, नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सबै भन्दा ठूलो पार्टीका रुपमा स्थापित नेपाली काँग्रेस पार्टीको गरिमालाई कायम राख्न पार्टीको हित बिपरित काम नगर्न सबैमा आग्रह गर्नु भयो ।
कार्यक्रममा सभापति देउवाले नेपाली काँग्रेसले नेतृत्व गरेका २१ वटा उत्कृष्ठ गाँउपालिका र नगरपालिकाहरुलाई सम्मान गर्नुभएको थियो ।
स्थानीय तहको संस्थागत क्षमताको स्वमूल्यांकन गरी उत्कृष्ट रहेका स्थानीय तहलाई नेपाली काँग्रेसले सम्मान गरेको हो ।
0 comment