काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विकास- निर्माणका काममा अवरोध नगर्न सम्बद्ध सबैलाई आग्रह गर्नुभएको छ । 

धर्मदेवी नगरपालिकाले आज मुढेशनिश्चरे बजारमा आयोजना गरेको कार्यक्रममा उहाँले जनताको विकासका चाहना पूरा गर्न जनप्रतिनिधि तथा कर्मचारी दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 

मन्त्री खड्काले स्थानीय तहका निम्ति विनियोजित बजेट उपयोग नहुँदा विकास- निर्माणका काम प्रभावित भएका बताउनुभयो । उहाँले ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रका समस्या समाधानमा लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 

जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव सुरेश आचार्यले जलविद्युत्, पर्यटन र कृषि क्षेत्रको प्रचुर सम्भावना भएको जिल्ला सङ्खुवासभाले ती स्रोतको सदुपयोग गरी विकासमा फड्को मार्नसक्ने उल्लेख गर्नुभयो  ।

उहाँले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सचिवालयले काम गरिहेको बताउनुभयो ।