काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताउनुभएको छ ।

महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेता, कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष दाहालले पार्टीको ‘एजेण्डा’ र त्यसकै आधारमा पार्टी नेतृत्वको सरकारले गरेका कामका कारण पार्टीप्रति आकर्षण बढेको बताउनुभयो ।

सुशासन, सामाजिक न्याय र समृद्धिका लागि पार्टीले अघि सारेको सुस्पष्ट एजेण्डाका कारण अहिले देशैभरि फेरि माओवादी केन्द्रप्रति आकर्षणको बढेको उहाँको दाबी छ ।

राजनीतिक हिसाबले अहिले मुलुक माओवादीकै एजेण्डामा चलिरहेको र आफ्नो पार्टी सरकारमा जाँदा हरेक पटक नयाँ- नयाँ काम गरेकाले अन्य पार्टीभन्दा माओवादी केन्द्र नै अब्बल रहेको उहाँले बताउनुभयो ।

जनतासँग जोडिएको पूर्वाधार निर्माणका हिसाबले पनि मध्यपहाडी लोकमार्गको थालनीदेखि लोडसेडिङमुक्त नेपाल, गाउँगाउँमा सूचना तथा सञ्चारको विकास हुँदै पछिल्लो समय सुशासन र सामाजिक न्यायका पक्षमा काम गरेको उहाँले बताउनुभयो । 

भ्रष्टाचारका फाइल खोलेर कारबाही प्रक्रिया थाल्नेदेखि मधेसलगायत देशैभरिको ठूलो समस्याका रूपमा रहेको मिटरब्याज (अनुचित लेनदेन) को समस्या समाधान र लाखौँ नागरिकताविहीन युवालाई नागरिकताका लागि कानुनी व्यवस्था लगायतका काम गरिएको उहाँले बताउनुभयो ।