काठमाडौं - कोशी प्रदेशका पुर्व मुख्यमन्त्री केदार कार्कीले पुन अनसन शुरु गर्नुभएको छ । 

निषेधित क्षेत्रमा अनसन बसेको भन्दै सुरक्षाकर्मीहरुले बल प्रयोग गरी अनसन स्थलबाट हटाएर घर पुर्‍याएको केही बेर पछि नै निषेधित क्षेत्र बाहिर देवकोटा चोकमा पुनः अनसन थाल्नुभएको हो ।

प्रदेश सभा सचिवालय अगाडि रहेको बनसखण्डी मन्दिर सामुन्ने अनसन बसेका पुर्व मुख्यमन्त्री कार्कीलाई निषेधित क्षेत्र भन्दा करिब ५० मिटर पुर्व देवकोटा चोकमा अनसन बस्न पटक पटक गरेको आग्रह गरेपनि अस्विकार गरेपछि सुरक्षाकर्मीहरुले बल प्रयोग गरेर हटाएको थियो ।  

अनसन स्थलबाट पुर्व मुख्यमन्त्री कार्कीलाई हटाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिब २ सय सुरक्षाकर्मीहरुलाई निकै हम्मे हम्मे नै परेको थियो । सो क्रममा पटक पटक झडप हुँदा केही नेता तथा कार्यकर्ताहरु समेत घाइते भएका छन् ।

उहाँलाई साथ दिन पुगेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेपाली कांग्रेस विराटनगर महानगर समितिका अध्यक्ष दीपक चापागाई लगायतलाई प्रहरीले बल प्रयोग गरी अनसन स्थलबाट हटाएको थियो ।आफुले ल्याएका योजनाहरु वर्तमान हिक्मत कुमार कार्की नेतृत्वको कोशी सरकारले कटौती गरेको भन्दै पुर्व मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभा भवन अगाडि आमरण अनसन शुरु गर्नुभएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार दिउसो ३ बजे देखि प्रदेश सभा सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मुख्यमन्त्रीको निवास, प्रदेश प्रमुखको कार्यालय, जिल्ला प्रशासन कार्यालय क्षेत्रमा विरोध प्रदर्शन र अनसन लगायतका कार्य रोक्न निषेधित क्षेत्र तोकेको थियो ।