काठमाडौं - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको प्रगतिमा भ्रष्टाचार र भ्रष्टाचारी दुवै शत्रु भएका बताउनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँद्वारा ‘भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना’ का सम्बन्धमा आज मोरङमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले भ्रष्टाचारलाई न्यून गर्दै नेपाललाई भ्रष्टाचारमुक्त मुलुकका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री कार्कीले मुलुकमा भ्रष्टाचारलाई शून्य प्रतिशत सहनशीलताको स्थानमा पुर्याउनुपर्ने भन्दै यसका लागि राजनीतिक, प्रशासनिक नेतृत्व र सुरक्षा निकायलगायत सबैले प्रतिबद्धता व्यक्त गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले प्रदेशमा भ्रष्टाचारविरुद्धको रणनीति बनाउन आवश्यक छलफल गरी नीतिगत योजना बनाइने जानकारी पनि दिनुभयो ।
मुख्यमन्त्री कार्कीले भ्रष्टाचारविरुद्धको कामकारबाहीलाई नियन्त्रण गर्न विधि, नीत बनाएर प्रतिबद्धता सहित कार्य गरेमा उल्लेखनीय सफलता हासिल गर्न सकिने धारणा राख्नुभयो ।
अन्तर्राष्ट्रियस्तरमा मुलुकको सकारात्मक पहिचान बनाउन भ्रष्टाचार नियन्त्रण आवश्यक रहेकाले यसमा सबैले आ आफ्नो क्षेत्रबाट सहकार्य गर्नुपर्ने उहाँको भनाई छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव फणिन्द्र गौतम, कार्यालयका सहसचिव राजेन्द्र थापा, उपसचिव ओमप्रकाश पराजुलीले भ्रष्टाचारको जोखिम पहिचान गरी निगरानी गर्नुपर्ने, प्रदेश र स्थानीय निकायमा भ्रष्टाचारविरुद्धको कार्यनीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेशसभाका सांसद, स्थानीय पालिकाका प्रमुख एवं उपप्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारी, प्रदेशसभा सचिवालयका कर्मचारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता थियो ।
0 comment