काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका नेता तथा कार्यकर्ता जनताका अधिकार रक्षा गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोख्रेल ‘वैरागी’ को २५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले जनताको बलिदान र अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिनुभएको हो । 

आफूहरूले गरेको परिवर्तनकारी जनयुद्धलाई संविधानमा जनताको सशस्त्र सङ्घर्ष र त्यसको व्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेको उल्लेख गर्दै उहाँले देशमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना भए पनि जनताले गरेको त्यागको समुचित मूल्याङ्कन नभएको बताउनुभयो ।