काठमाडौं - गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न कानून कार्यान्वयन गर्ने निकायहरूबीच अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताउनुभएको छ । 

नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित इन्टरपोल स्थापनाको शताब्दी दिवसको अवसरमा  गृहमन्त्री लेखकले सो कुरा बताउनुभएको हो । 

गृहमन्त्री लेखकले अपराधिक क्रियाकलापहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्त्व हुने बताउनुभयो ।यस्ता अपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमा विशेषज्ञताहरू, असल अभ्यास एवम् आपसी सूचना आदान प्रदान हुनुपर्ने उहाँको भनाइ थियो । समाजलाई शान्त, सुरक्षित एवम् भयरहित बनाउन सबैको संयुक्त प्रयास हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीले कानून कार्यान्वयन गर्दै शान्ति सुव्यवस्था कायम राख्न निर्वाह गरेको भूमिका प्रंशसनीय रहेको बताउनुभयो । 
यस कार्यक्रमले कानून कार्यान्वयन गर्ने निकायहरूबीच अन्तर्राष्ट्रिय स्तरमा समन्वय र सहयोगको संयुक्त प्रतिबद्धता प्रतिबिम्बित गरेको उहाँको भनाइ थियो । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय स्तरमा गरेको समन्वय र सहयोग उल्लेखनीय रहेको चर्चा गर्दै अपराधको चुनौतिहरूलाई सम्बोधन गर्न आगामी दिनमा सुरक्षा निकायलाई थप मजबुद बनाउँदै लैजानेमा गृहमन्त्रालय क्रियाशील रहेको बताउनुभयो । 

यस्तै परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका अपराध नियन्त्रण गर्न एवम् शान्ति सुव्यवस्था बलियो बनाउन कानून कार्यान्वयन गर्ने निकायहरूबीच संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन गर्नुहुँदै संगठित अपराध, साइबर अपराध, आतंकवाद, आर्थिक अपराध लगायतमा संलग्नलाई कानूनी दायरामा ल्याउन अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो । 
कानून कार्यान्वयन गर्ने निकायबीच संयुक्त सहकार्य, स्रोत र रणनीतिहरू आदान प्रदान गर्दै जटिल अपराधहरू र अन्य सुरक्षा चुनौतिलाई प्रभावकारी रूपमा सामना गर्न सकिने उहाँले बताउनुभयो ।