काठमाडौं - दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु हुने भएको छ ।

चिकित्सा शिक्षा आयोगले एमबिबिएस पढाइ सञ्चालनका लागि ५० सिट सुनिश्चित गरेको छ । जसमा ७५ प्रतिशत छात्रवृत्तिमा विद्यार्थीले एमबिबिएस पढ्न पाउने रजिष्ट्रार श्याम लम्सालले बताउनुभयो ।

प्रतिष्ठानले करिब ७ वर्षपछि एमबिबिएस पठनपाठनका लागि आयोगबाट अनुमति पाएको हो । हाल प्रतिष्ठानमा बिएस्सी र बिएनएस नर्सिङ र चिकित्सकको एमडिको पठनपाठन भइरहेको छ । 

अब एमबिबिएस पढ्नकै लागि जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । एमबिबिएस पढाइ सञ्चालन गर्ने कुरा प्रतिष्ठानको शैक्षिक कार्यक्रममा कोसेढुङ्गा सावित हुने उहाँले बताउनुभयो ।

राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइएको हो ।