काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहज रूपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती  सेवाका कर्मचारीहरूलाई आग्रह गर्नुभएको छ ।

एक्काईसौँ निजामती सेवा दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासन कायम गर्न कर्मचारी वर्ग दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 

“तपाईँहरू कतै प्रयोग नहुनुस् । भ्रष्टाचार जस्तो दुष्कर्ममा सहभागी नहुनुस् । तपाईँहरूलाई प्रयोग नगरी नेताहरूले पनि भ्रष्टाचार गर्न सक्दैनन् । भ्रष्टाचार गर्ने नेताहरूको रेकर्ड राख्नुस् ।

भाषणमा एउटा र व्यवहारमा अर्को काम गर्ने नेताहरूले ठूला कुरा गर्दा अरु केही गर्न नसके पनि चिन्या छु भनेर मुसुक्क टाँसिदिनुस् ।’’ प्रधानमन्त्री ओलीले भन्नुभयो, “म चुनौती दिएर भन्छु-  म आफू पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि त्यसो गर्न दिन्नँ । नेपाललाई हर तरहले समृद्ध बनाउन हामी सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ ।’’

राज्यबाट जनतालाई दिइने सेवामा कुनै कारणले विलम्ब र आलटाल नगर्न निर्देश गर्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख नदिई सकारात्मक अनुभूति दिएर छोराछोरीलाई देशभित्र बस्न लायक बनाउनु सबैको दायित्व भएको बताउनुभयो । 

उहाँले नेपाली संस्कार भित्र सेवा र पवित्रताको भाव रहेकाले संविधान र कानुनका व्यवस्थाका साथै इमान, कर्तव्य र नैतिकताको बन्धनलाई ध्यानमा राखेर काम गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार देशमा परिवर्तनको नायकत्व लिएका पार्टीहरूको समेत सरकार भएकाले यसले निजामती सेवा विधेयक लगायत महत्वपूर्ण विधेयकलाई छिटो पारितका लागि छलफल प्रक्रिया थाल्ने बताउनुभयो । 

उहाँले अधिकार छ भन्दैमा दुई चार जना गएर तालाबन्दी गर्ने, सेवा प्रभावित पार्ने, अत्यावश्यक क्षेत्रमा हडताल गर्ने जस्ता काम उचित नहुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विगतमा कर्मचारीको उत्साह थप्न आफूले एकै पटक २५ प्रतिशत तलब वृद्धि गरे पनि हाल मुलुकको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सरलीकरणका लागि सबै लागेमा स्थिति सहज हुने बताउनुभयो ।