काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालीन घटनाको पुनरावृत्ति हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सङ्क्रणकालीन न्यायसँग सम्बन्धित विषयमा नेपाल समाजवादी पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको प्रमण्डलको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै उहाँले नेपाली जनतालाई जातीय आधारमा विभाजित गरेर र सामाजिकरुपमा घृणा-द्वेष फैलाएर राष्ट्रिय एकतालाई कमजोर पार्ने प्रयास सफल नहुने स्पष्ट गर्नुभएको हो ।

 डा भट्टराई नेतृत्वको प्रतिनिधिमण्डलले १९ बुँदे ध्यानाकर्षणपत्र आज प्रधानमन्त्रीलाई बुझाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले कम्तीमा आफू प्रधानमन्त्री र नेकपा (एमाले) को अध्यक्ष रहुन्जेल अहिले चर्चामा ल्याइए जस्तो नेपालमा बङ्गलादेश वा श्रीलङ्कामा भएका जस्ता घटना हुने स्थिति आउँदैन भन्नुभयो ।

आफ्नो २२ महिने कार्यकालभित्र सङ्क्रणकालीन न्यायलाई टुङ्गोमा लगिने भनाइ प्रधानमन्त्रीको थियो । 

समाजवादी पार्टीका संयोजक डा भट्टराईले दुई ठुला दलको सरकार बनेकाले सङ्क्रमणकालीन न्याय टुङ्गोमा लाने अवसर भएकाले यसमा आफूहरुको साथ रहने विश्वास प्रधानमन्त्रीलाई दिलाउनुभएको थियो ।