काठमाडौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानविपरीत अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताउनुभएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले सहिदद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधान विपरित अभिव्यक्तिको प्रतिवाद गर्न कार्यकर्तालाई आह्वान गर्नुभयो । 

जनयुद्धलाई संविधानले सशस्त्र सङ्घर्षका रुपमा सम्बोधन गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधानको व्याख्यात्मक टिप्पणीमा ‘सशस्त्र सङ्घर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ’ भनेर लेखिएको स्पष्ट पार्नुभयो ।

व्याख्यात्मक टिप्पणीमा सबै दलहरूले हस्ताक्षर गरेका छन् । तर अहिले कतिपय सत्तारुढ दलका नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, आतङ्क थियो भन्ने दुस्साहस गर्ने गरेकोले  संविधानविपरीत बोल्ने छुट कसैलाई पनि नभएको बताउनुभयो । 

जनयुद्धका सहिदलाई सम्मान गर्ने सवालमा पार्टीले निरन्तर काम गरिरहेको अध्यक्ष दाहालको भनाइ छ । पटकपटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकेकाले पछिल्लो पटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरू खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको उहाँले बताउनुभयो । 

माओवादीले सबै सहिदको एकै साथ सम्झना गर्न जनयुद्ध थालनी भएको दिन हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउने गरेको छ।