काठमाडौं - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ३७ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६.८३ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४९.५७ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.३५ अङ्कले ओरालो लागेर ४८९.७९ मा ओर्लेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा एक उपसमूहको मात्रै उकालो लागेको छ ।

कूल दुई करोड ८३ लाख ४६ हजार दुई सय ४६ कित्ता शेयर रु १२ अर्ब २४ करोड ३६ लाख एक हजार तीन सय ६५ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार कुथरी बखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । 

रसुवागढी हाइड्रोपावर ९.९९, मिड सोलु हाइड्रोपावर ८.४८, मितेरी डेभलपमेन्ट बैंक ७.८९ र पिपल्स हाइड्रोपावरका लगानीकर्ताले ७.६२ प्रतिशतले कमाएका छन् ।

यस्तै थ्री स्टार हाइड्रोपावर १०, विन नेपाल लघुवित्त ५.८४, एनआरएन इन्फास्ट्रक्चर ५.०८, तारागाउँ रिजेन्सी होटल ४.९९ र नाडेप लघुवित्तका लगानीकर्ताले ४.७८ प्रतिशतले गुमाएका छन् ।