काठमाडौं - मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको समग्र विकासका लागि प्रदेशभित्रका सम्पूर्ण जिल्ला जोड्ने गरी पर्यटन सर्किटको विकास गर्ने सरकारले तयारी गरेको बताउनुभएको छ ।

प्रदेशका ऐतिहासिक धरोहर तथा परम्परालाई सन्तुलित र समुचित विकासमा जोड्दै सरकारले पर्यटन सर्किटको योजना बनाएको उहाँले बताउनुभयो ।

पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्राको अवसरमा मुख्यमन्त्री आचार्यले आज शुभकामना सन्देश जारी गर्दै सबै समुदाय विशेषले मनाउने चाड, पर्व, रीतिरिवाज, परम्परा, धार्मिक मान्यतालाई बराबर सम्मान गरिने बताउनुभएको छ । 

शुभकामना सन्देशमा उहाँले प्रदेश सरकारले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिकस्थल तथा परम्परालाई समृद्धिसँग जोड्न चाहेको उल्लेख गर्नुभएको हो ।

मुख्यमन्त्री आचार्यले धार्मिक र सांस्कृतिक परम्पराले पुराना रीतिरिवाज, परम्परा, धार्मिक मान्यतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न मद्दत गर्दै आएको पनि उल्लेख गर्नुभएको छ ।