काठमाडौं - गृहमन्त्री रमेश लेखकले जनताको मुद्दालाई प्राथमिकता राख्न नेपाल प्रहरीलाई निर्देशन गर्नुभएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले जनताको मुद्दालाई प्राथमिकतामा राख्दा प्रहरीको मुद्दा पनि सँगै समावेश हुने बताउनुभयो । 

सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको गृहमन्त्री लेखकले जानकारी दिनुभयो । नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएकोले जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउनेमा आफु विश्वस्त रहेको उहाँले बताउनुभयो ।

गृह सचिव एकनारायण अर्यालले नेपाल प्रहरीलाई समय अनुकुल, गतिशील, व्यावसायिक, सबल र सक्षम बनाउने नेपाल सरकारको नीति अनुरूप नै नयाँ भवनलाई महत्वपूर्ण उपलब्धीका रुपमा लिन सकिने बताउनुभयो ।

यसबाट नेपाल प्रहरीको मनोबल बढ्नुका साथै सेवाग्राहीलाई समेत सहज हुने उहाँको भनाइ थियो । 

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले भविष्यमा प्रहरीका अन्य भौतिक संरचना पनि विस्तारै व्यवस्थित गर्दै लैजाने बताउनुभयो ।