काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्तिसुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वअनुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिनेतर्फ सदैव सचेत भएर काम गर्न निर्देशन दिनुभएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको काठमाडौँ महानगरपालिका- ११ भद्रकालीस्थित नवनिर्मित भवनको आज उद्‌घाटन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढताका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभयो । 

वर्तमान सरकारले कुनै पनि अपराधीलाई नसमाउन, निर्दोषलाई फसाउन र दोषीलाई छाड्नु भनेर कहिल्यै नभन्ने बताउनुभयो ।

वर्तमान सरकार देश र जनताको पक्षमा केही गरौँ भन्ने भावनाका साथ गठन भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधान र कानुनबमोजिम कर्तव्य निर्वाह गर्न उन्नत ज्ञानको प्रयोग गरी जनतालाई गुणस्तरीय सेवा दिन निर्देशन दिनुभयो ।
 
प्रहरीमा बढुवा र सरुवाका लागि कुनै दौडधुप गर्न नपर्ने उल्लेख गर्दै उहाँले झोला थैला बोकेर कसैकोमा नधाउन पनि आग्रह गर्नुभयो ।

अहिलेको सरकार भात- रोटी खान्छ, घूस खाँदैन, तपाईंहरू कर्तव्यपालनामा पूर्ण स्वतन्त्र भएर ढुक्कले लाग्नूस्, अवाञ्छित र अनुचित प्रभावमा नलाग्नूस् ।” उहाँले भन्नुभयो ।
 
प्रहरीले साबिकको नेपाल खाद्य संस्थानसँग एक अर्ब १० करोडमा १५ रोपनी जग्गा खरिद गरेर एक अर्ब २६ करोडको लागतमा अत्याधुनिक भवन निर्माण गरेको हो । जिल्ला परिसर काठमाडौँ २०१२ सालमा हुनमानढोकाबाट सञ्चालन भएको थियो ।