काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला कमिटीले काठमाडौँको स्वास्थ्य, खानेपानी, ढल, सडक, खाद्यान्न, वातावरण लगायत अन्य सुधार गरिनुपर्ने क्षेत्रका सन्दर्भमा ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ एमाले बाग्मती प्रदेशका इन्चार्ज डा राजन भट्टराई, जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, काठमाडौँ महानगरपालिकाका उप प्रमुख सुनिता डङ्गोल, पूर्व प्रमुख विद्यासुन्दर शाक्य सहितको प्रतिनिधि मण्डलले सुधारका क्षेत्रबारे जानकारी गराउँदै ध्यानाकर्षण गराएको हो ।

टोलीले मेलम्ची खानेपानी आयोजनाको सहज आपूर्ति नभएको अवस्थामा काठमाडौँ क्षेत्र नं ३ स्थित सुन्दरीजलको नागमती ड्याम परियोजनाको बाँकी कामलाई तत्काल अगाडि बढाउन र उपत्यकाको विभिन्न भागमा पुनः भरणको योजना अगाडि बढाउन माग गरेको छ । यस्तै काठमाडौँका नदीहरूको सौन्दर्यीकरण र फोहरमैलाको दीर्घकालीन समाधान गर्न पनि माग गरिएको छ ।

प्रतिनिधि मण्डलले काठमाडौँ महानगरपालिका भित्र नदीको दायाँबायाँ छोड्न निर्धारण गरिएको भन्दा अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिनेसम्बन्धी सर्वोच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकनका लागि आग्रह समेत गरेको छ ।