काठमाडौं - सुदूरपश्चिमी भू-भागमा आज धुमधामका साथ गौरा पर्व मनाइदै छ ।

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा गौरा पर्व मनाइने गरिन्छ ।

यस पर्वमा शिव र पार्वतीको पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ  जसको फलस्वरूप  शिव र पार्वती तथा इष्‍ट र कुल देवता प्रसन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ ।

साथै, पाँच प्रकारका अन्नबाट बनेको “बिरुँडा” अर्पण गरी प्रसादको रुपमा ग्रहण गरेर यो पर्व  मनाउने गरिन्छ ।

यस पर्वको अवसरमा स्थानीयहरू गोलबद्ध भई लोक भाषामा  देउडा, धमारी र चैत आदिका माध्यमबाट एक अर्काका दुःख, सुख साटासाट गर्ने गर्दछन्  । साथै, यस पर्वले बिछोडिएका जोडीहरूको मिलन हुने, आपसी भाइचाराको सम्बन्धमा वृद्धि हुने र  पति- पत्नी बीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास रहेकोले यसलाई    धुमधाम पूर्वक मनाउने प्रचलन रहि आएको छ । 

गौरा पर्व अर्थात् भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरूसँगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरूले सौभाग्यका रूपमा समेत मनाउने गर्दछन् ।

खस राज्यको उद्गम भूमि भाषा, संस्कृति, सविशेष गरी डोटी र कुमाउँमा परापूर्व काल देखी नै गौरा पर्व मनाइँदै आएको पाइन्छ ।

यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्‍भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । 

सभ्यताको जरा बोकेको सुदूरपश्चिममा गौरा पर्व विभिन्न धार्मिक कार्यहरूको आयोजना गरेर मनाइन्छ ।

फाइल फोटो