काठमाडौं - त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको सङ्ख्या दोब्बर वृद्धि भएको छ ।

विसं २०७७ मा तीन हजार चार सय विद्यार्थी अध्ययन गरेको यस क्याम्पसमा हाल यो सङ्ख्या सात हजार माथि पुगेको हो ।

क्याम्पसमा नयाँ विषयको पठनपाठन थालेपछि विद्यार्थीको आकर्षण निकै बढेको क्याम्पस प्रमुख दयाराम पौडेलले बताउनुभयो ।

क्याम्पसमा मानविकी, विज्ञान, व्यवस्थापन र शिक्षा सङ्कायको स्नातक र स्नातकोत्तर तहमा पढाइ हुँदै आएको छ । 

स्नातकमा व्यवस्थापन तर्फ बिबिए र बिबिएसको पढाइ हुने गर्दछ । विज्ञानतर्फ बिएस्सी, बिएस्सी सिएस आइटी, बिआइटी, बिएस्सी जुओलजी र माइक्रोबायोलोजीको पढाइ हुने गरेको छ । शिक्षातर्फ बिएस र बिआइसिटीई विषयको पढाइ हुने गर्दछ । 

स्नातकोत्तरमा विज्ञानतर्फ फिजिक्स र क्यामेस्ट्री, व्यवस्थापनतर्फ एमबिएस, मानविकीतर्फ नेपाली, अङ्ग्रेजी, अर्थशास्त्र, समाजशास्त्र र जनसङ्ख्या शिक्षाको पढाइ हुँदै आएको छ । 

क्याम्पसमा यसै वर्षदेखि एमसिए र एमएडको पढाइ सञ्चालन गर्ने तयारी छ । कम शुल्क र गुणस्तरीय पढाइ हुने भएकाले कोटा पाएसम्म विद्यार्थी अन्यत्र नजाने क्याम्पस प्रमुख पौडेलले बताउनुभयो ।