काठमाडौं - गृहमन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व, दिगो विकास, सुशासन प्रवर्दन तथा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएको बताउनुभएको छ ।

आज जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लेखकले विकासका लक्ष्य पूरा गर्न राज्यका सबै संयन्त्रका साथै समाजका हरेक वर्गको सहयोग अपरिहार्य भएकोमा जोड दिनुभयो। 

उहाँले वर्तमान सरकारका विकासका प्राथमिकताबारे जानकारी दिँदै निकट भविष्यमा नेपाल प्रहरीको सङ्गठनात्मक संरचना सुधारसम्बन्धी कानुन जारी हुने बताउनुभयो । 

नेपाल प्रहरीको ऐन  ६९ वर्ष पुरानो भएकाले सामयिक परिमार्जन आवश्यक रहेको उहाँको भनाई छ ।

ऐन परिमार्जन गरेर बजेट व्यवस्थपनका निम्ति अर्थ मन्त्रालयमा पुगिसकेको जनाउदै गृहमन्त्री लेखकले नयाँ कानुन निर्माण तथा सङ्गठनात्मक क्षमता बढाएर प्रहरीलाई अझ व्यावसायिक बनाउनुपर्नेमा जोड दिनुभयो ।