काठमाडौं - सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट सर्वसम्मतले पारित भएको छ । मङ्गलबार बसेको प्रदेश सभा बैठकबाट विधेयक सर्वसम्मतले पारित भएको हो ।
विधेयकमा थारु/ रानाथारु समुदायको जनसङ्ख्याको अनुपातमा समावेशी कोटा निर्धारण नभएको भन्दै नागरिक उन्मुक्ति पार्टीका उपस्थित सबै प्रदेश सभा सदस्य र नेपाली कांग्रेसका गीता चौधरीले विरोध जनाउनुभएको थियो । तर विरोधका बाबजुद सभामुख भीमबहादुर भण्डारीले हुन्न भन्ने आवाज नसुनिएको भन्दै सर्वसम्मतले विधेयक पारित भएको घोषणा गर्नुभएको हो ।
थारु/ रानाथारु समुदायको समावेशी कोटा जनसङ्ख्याको अनुपातमा निर्धारण हुनुपर्ने मागसहित दुवै समुदायका व्यक्तिले प्रदेश सभाको मूल गेटमै धर्ना दिएर विरोध जनाएका थिए ।
मुख्यमन्त्री कमलबहादुर शाहले संविधानमा व्यवस्था भए बमोजिम थारु/ रानाथारु समुदायको जायज मागलाई सम्बोधन गर्ने आश्वासन दिनुभयो ।


0 comment