काठमाडौं -  स्वास्थ्य बीमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागू भएयता एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ रुपैयाँ प्राप्त गरेको छ । यो अवधिमा बिमितले १० लाख ३५ हजार एक सय १५ पटक सेवा पाएका छन् । 

सेवा दिएबापत अस्पतालले बीमा बोर्डबाट सो रकम प्राप्त गरेको हो । अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका इन्चार्ज लीलाधर पौडेलले वि. सं २०७४ भदौ १ गतेदेखि भरतपुर अस्पतालमा बीमा कार्यक्रम लागू भएको जानकारी दिनुभयो ।

अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशतभन्दा बढी बीमाका हुने गरेको जनाइएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले  स्वास्थ्य बीमाको सेवा अस्पतालमा राम्रो भएकाले आकर्षण बढ्दो रहेको बताउनुभयो । करिब १८ भन्दाबढी जिल्लाका बीमाका बिरामी भरतपुर अस्पतालमा उपचारका लागि जाने गरेका छन्। 

चितवनसहित गोरखा, तनहुँ, नवलपरासी र मकवानपुरका कतिपय पालिकाका सेवाग्राहीले भरतपुर अस्पताललाई बीमाको प्रथम बिन्दु बनाएका छन् । नेपालमा विसं २०७२ चैत २५ गते कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो । अहिले नेपालका ७७ जिल्लामा यो कार्यक्रम लागू छ ।