काठमाडौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका मुद्दालाई रक्षा गर्न सडक र सदनबाट प्रभावकारी कदम चालिने बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादीका पूर्वकेन्द्रीय सदस्य एवं सहिद रामवृक्ष यादवको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले आफूलाई जनता र वर्गप्रति फर्कने अवसर प्राप्त भएको बताउनुभएको हो।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशङ्का जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन् । जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन । मैले सदन र सडकबाट सङ्घर्षको विकल्प देखेको छैन ।” उहाँले वर्तमान सत्तागठबन्धनको उद्देश्य गलत रहेको आरोप लगाउनुभयो ।
पार्टीलाई थप सुदृढ बनाउनेतिर अगाडि बढेको र त्यसको परिणाम छिट्टै देखिने अध्यक्ष दाहालले बताउनुभयो । स्पष्ट कार्ययोजनाका साथ पार्टीलाई एकताबद्ध गर्दै जनपरिचालनको गृहकार्य भइरहेको उहाँले उल्लेख गर्नुभयो ।
भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा दृढतापूर्वक कदम चालिएका कारण आफ्नो नेतृत्वको सरकार विस्थापित गरिएको अध्यक्ष दाहालको आरोप थियो ।
अध्यक्ष दाहालले रामवृक्ष यादवले मधेसमा जनयुद्धको आधार तयार पार्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउनुभयो । तत्कालीन एकता–केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादव २०५१ सालमा सहिद हुनुभएको थियो ।
0 comment