काठमाडौं - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज छिमेकी राष्ट्र भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । 

भारतीय समकक्षी डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा पाँच दिने भारत भ्रमणमा निस्कन लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवम् नेपाल- भारतबीचको सहकार्य बारे छलफल गर्नुहुने जनाइएको छ । 

दुई देशबीचमा नियमित रुपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवम् प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ ।

परराष्ट्रमन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।