काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाइ अभियान सुरु गरेको छ । ‘स्वस्थ नेपाल र निरोगी नेपाली’ का लागि स्वास्थ्य मन्त्रालयले हप्ताको एक दिन कार्यालय-घर सरसफाइ अभियान सुरु गरेको हो ।

निरोगी नेपाल बनाउने सङ्कल्प पूरा गर्नका लागि मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रबार घर- कार्यालय सरसफाइ गर्न एक घण्टाको समय छुट्याउन आमनागरिकसँग आग्रह समेत गरेको हो ।

शुक्रबार बिहान १० देखि ११ बजेसम्म एक घण्टाको समय स्वास्थ्यमन्त्री प्रदीप पौडेलसहित मन्त्रालयका कर्मचारीहरू मिलेर मन्त्रालय सरसफाइमा जुट्नुभयो । मन्त्रालयबाट सुरु गरिएको अभियान सहर हुँदै गाउँसम्म नै पुग्ने र यसले भविष्यका लागि समेत स्वस्थ रहन मद्दत पुर्‍याउने मन्त्रालयको लक्ष्य छ ।

अभियानबारे जानकारी दिँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले डेंगु नियन्त्रण र न्यूनीकरणका लागि गत हप्तादेखि नै सङ्घीय मन्त्रालय र मातहत रहेका कार्यालयमा शुक्रबार सरसफाइ अभियान सुरु गरेको बताउनुभयो । उहाँले पानी जम्मा हुने भाँडा घोप्ट्याउने, ओसिलो ठाउँ हुन नदिने गर्न सुझाव दिनुभयो ।

प्रवक्ता बुढाथोकीले भदौ ६ गते सम्बन्धित समिति र सातै प्रदेशका स्वास्थ्यमन्त्रीसँग बैठक राखेर अभियान सञ्चालन गर्नका लागि आह्वान गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले हरेक नेपालीलाई शुक्रबार घरमा आधा घण्टादेखि १ घण्टा सरसफाइको अभियान चलाउन पनि आग्रह गर्नुभयो ।