काठमाडौं - नेपालका लागि पाकिस्तानका राजदूत अब्ररर एच हास्मीले नेपालसँगको सहयोग र साझेदारी बढाउन पाकिस्तान प्रतिबद्ध रहेको बताउनुभएको छ ।
पाकिस्तानको ७८ औँ स्वतन्त्रता दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा बुधबार साँझ आयोजित स्वागत समारोहमा उहाँले नेपाललाई पाकिस्तानले निरन्तर सहयोग गर्ने बताउनुभएको हो।
शिक्षा, प्रतिरक्षा, ब्याङकिङ, स्वास्थ्यका साथै अन्य प्राविधिक क्षेत्रमा पाकिस्तान र नेपालबीचको साझेदारीले असल प्रतिफल दिएको उहाँको भनाई छ । डाक्टर, इञ्जिनियर, पत्रकार, विमान चालकलगायत सात हजारभन्दा बढी पाकिस्तानमा दीक्षित नेपालीले यो देशको प्रगतिका निम्ति आ-आफ्नो क्षेत्रबाट योगदान गरिरहेको पाकिस्तानी राजदूतले स्मरण गराउनुभयो ।
पाकिस्तान र नेपाल जलवायु परिवर्तनका दुष्प्रभाव र त्यसको जोखिममा रहेका, दुवै देशका हिमालय क्षेत्र पारिस्थितिकीय रूपले कमजोर रहेका, हिमनदी पग्लने र हिमताल विष्फोट हुने जोखिम रहेको बताउँदै उहाँले दीर्घकालीन रूपमा त्यसले खाद्य र जल सुरक्षामा चुनौती थप्ने उल्लेख गर्नुभयो । उहाँले यो क्षेत्रका समुदायको हित र दिगो विकासका लागि ती चुनौतीलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
पाकिस्तान विश्वका सबै राष्ट्रसँग हार्दिक एवं शान्तिपूर्ण सम्बन्ध कायम गर्न प्रतिबद्ध रहेको बताउँदै राजदूत हास्मीले संयुक्त राष्ट्रसङ्घीय शान्तिसेनाका माध्यमबाट विश्व शान्तिका लागि पाकिस्तानले योगदान गरिरहेको बताउनुभयो ।
नेपाल पाकिस्तान सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता आपसी विश्वास सधै कायम रहेको उल्लेख गर्नुभयो ।
व्यापार, हवाई सेवा, संस्कृति, पर्यटन, कृषिलगायत क्षेत्रमा दुई देशबीच साझेदारीका सम्झौता भएका स्मरण गर्दै द्विपक्षीय संयन्त्रमार्फत जलवायु परिवर्तन, सूचना प्रविधि, भौतिक पूर्वाधार तथा मानव संशाधन विकासलाई अझ विस्तार गर्नेतर्फ दुवै मुलुक क्रियाशील रहेको बताउनुभयो ।
नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठनका अध्यक्ष मञ्जुरत्न शाक्यले दुवै देशले आपसी सम्बन्धलाई उच्च महत्व दिएका बताउँदै पाकिस्तानसँगको मुलुकको जनस्तरको सम्बन्धलाई अझ सब बनाउन सङ्गठन लागिपरेको उल्लेख गर्नुभयो ।
समारोहमा उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद, पूर्वउपप्रधानमन्त्री सिपी मैनाली, पूर्वमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, उद्यमी-व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
त्यस अवसरमा पाकिस्तानले सामाजिक-आर्थिक, प्राविधिक एवं सामरिक विकासमा गरेका प्रगति झल्कने वृत्तचित्र पनि प्रस्तुत गरेको थियो ।
0 comment