काठमाडौं - पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा दिन पोर्चुगल पुगेको टोलीले आजदेखि सेवा दिन सुरु गरेको छ ।

विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि आवेदन सङ्कलन गर्न राहदानी विभागका निर्देशक मोतिबहादुर श्रीस नेतृत्वको तीन सदस्यीय राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली हिजो राजधानी लिस्बन पुगेको हो ।

टोलीले लिस्बनस्थित गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको हलमा ‘घुम्ती सेवा शिविर’ सञ्चालन गरेर आजदेखि सेवा दिन सुरु गरेको छ । सेवा सुरु भएसँगै शिविर वरपर रहेका सेवाग्राही नेपालीको घुइँचो लाग्न थालेको बताईएको छ । 

पहिलो दिन आज राहदानीको म्याद सकिसकेका, म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका वा हराएका र पोर्चुगलमा जन्मेका नेपालीका छोराछोरी गरी १ सय ८३ जनाको ‘बायोमेट्रिक’ विवरण सङ्कलन गरिएको छ ।

नयाँ राहदानी बनाउन ६ हजारले अनलाइन आवेदन भरेकाले सोही सङ्ख्याको हाराहारीमा दरखास्त सङ्कलन हुने अनुमान गरिएको छ । समयमै काम सक्ने गरी सेवा दिने प्रयास गरिएकोले तोकिएको दिन र समयमा अनिवार्य उपस्थित हुन टोलीले सेवाग्राहीलाई आग्रह समेत गरेको छ ।