काठमाडौं - रुस र पश्चिमा देशबीच शीतयुद्धपछिको सबैभन्दा ठुलो बन्दी आदान-प्रदान भएको छ ।
कुल २४ जनालाई रिहा गरिएको अमेरिकाले पुष्टि गरेको छ । १६ कैदीलाई रिहा गरिएको र उनीहरू युरोप र अमेरिका फर्कने क्रममा रहेको ह्वाइटहाउसले जनाएको छ ।
यसको बदलामा अमेरिका लगायतका पश्चिमा देशले ८ जना रुसी बन्दीलाई रिहा गरेका छन् । अमेरिका, नर्वे, जर्मनी, पोल्यान्ड र स्लोभेनियाका जेलहरूबाट ८ रुसी कैदीहरूलाई रिहा गरिएको हो । यसका साथै दुई जना कैदीका छोराछोरी पनि रुस फर्किएका छन् ।
राष्ट्रपति जो बाइडेनले अमेरिकी सामुद्रिक दिग्गज पल व्हेलन, रुसी-अमेरिकी पत्रकार अल्सु कुर्मशेभा र अमेरिकी ग्रिन कार्ड भएका रुसी-ब्रिटिश कार्यकर्ता भ्लादिमिर कारा-मुर्जा पनि अमेरिका फर्कने क्रममा रहेको पुष्टि गरेका छन्।
समन्वयात्मक रुपमा बन्दी रिहाइका लागि अमेरिकाले रुस, जर्मनी र अन्य तीन देशहरूसँग सघन वार्ता गरेको थियो। अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्झौतालाई ‘कूटनीति र मित्रताको उपलब्धि’ भनेर प्रशंसा गर्नुभएको छ ।
एक वर्षभन्दा बढी समयसम्म गोप्य रूपमा भएको वार्ता पछि उक्त सम्झौता भएको हो ।
0 comment