काठमाडौं - इरानले इजरायललाई कठोर दण्ड दिने धम्की दिएको छ । 

बुधवार हमासका नेता इस्माइल हनियाहको हत्यामा इजरायल जिम्मेवार रहेको भन्दै इरानले सो धम्की दिएको हो । इजरायलले भने तेहरानमा हनियाहको हत्याको बिषयमा कुनै टिप्पणी गरेको छैन।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हालका दिनहरूमा आफ्ना शत्रुहरूलाई कडा प्रहार गर्ने गरेको बताएका छन् । यो हमला हुनुभन्दा केही घण्टा अघि लेबनानमा एक वरिष्ठ हेजबुल्लाह कमाण्डरको हत्या गरिएको थियो । उनले कुनै पनि परिस्थितिको लागि तयार रहेको बताउदै कुनै पनि खतरा विरुद्ध एकजुट र दृढ हुने बताएका छन्।

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले यस क्षेत्रमा शत्रुताको खतरनाक वृद्धि भईरहेको बताएका छन् । स्थितिबारे छलफल गर्न आज संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बोलाईएको छ।