काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) बमोजिम आइतबार ५ बजेसम्मका लागि सरकार गठनको आह्वान गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने जनाएका छन्।
विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानका धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्ने गरी तोकेका हुन्।
'प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाको आजको बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धीको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेको व्यहोरा सङ्घीय संसद् प्रतिनिधिसभा सभामुखको यही असार २८ गतेको पत्र प्राप्त हुन आएकाले संविधानबमोजिम यही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्नेगरी तोक्नुभएको छ,' विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) बमोजिम सरकार गठनको आह्वान गरेपछि ओलीलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ।
यसअघि सत्तापक्ष र प्रतिपक्षबीच संविधानको धारा ७६(२) र ७६(३) लाई लिएर विवाद उत्पन्न भएको थियो। सत्तापक्षले ७६(२) विफल भएपछि स्वतः ७६(३) बमोजिम सरकार गठन हुनुपर्ने माग गर्दै आएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहालले समेत संवैधानिक व्यवस्थाअनुसार ७६(३) बमोजिम सरकार बन्नुपर्ने बताएका थिए।
सत्तापक्षले ७६(३) को माग गरे पनि कांग्रेस-एमाले नेताहरूले ७६(२) बमोजिम नै सरकार गठन हुने बताउँदै आएका थिए। सरकार गठनको आह्वानअघि राष्ट्रपति पौडेलले कानुनविद्हरूसँग छलफल गरेका थिए। राष्ट्रपति पौडेलले कानुनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली र सीताराम केसीसँग छलफल गरेका थिए।
उनीहरूले संविधानको धारा ७६(२) बमोजिम सरकार गठनको आह्वान गर्न सकिने र त्यसका लागि कुनै कानुनी जटिलता नहुने सुझाव दिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको थियो।
सरकार गठनको आह्वानसँगै ओली नेतृत्वको सरकार गठनका लागि कांग्रेस-एमालेले दाबी पेस गर्ने भएको छ। आजमात्रै ओली नेतृत्वमा सरकार गठनका लागि कांग्रेस र एमाले सांसदहरूको हस्ताक्षर संकलन गरिएको थियो।
0 comment