काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मुकुल ढकालले सभापति रवि लामिछानेमाथि सहकारी ठगी र पासपोर्ट प्रकरणमा पार्टीका तर्फबाट स्वतन्त्र छानबिन गर्न माग गरेका छन्।
सर्वोच्च अदालतले समेत सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि छानबिन हुनुपर्ने आदेश सुनाएको भन्दै महामन्त्री ढकालले पार्टीले पनि स्वतन्त्र छानबिन गर्नुपर्ने बताए।
'सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि छानबिन गर्नुपर्छ भन्ने कुरामा सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा श्रेष्ठको राय एउटै छ। राजीनामा दिने कि नदिने कुरामात्रै उहाँहरूको राय माझिएको हो। सर्वोच्च अदालतले नै छानबिन गर्नुपर्ने नजिर स्थापित गरेको छ,' बुधबार आयोजित पत्रकार सम्मेलनमा ढकालले भने।
उनले सहकारी ठगीसम्बन्धी जाहेरी कतै नपरेको रवि लामिछानेको दाबी अदालतले गलत सावित गरेको बताए। पार्टीको भविष्य जोडिएकाले उनले पासपोर्ट प्रकरणमा पनि लामिछानेमाथि छानबिन हुनुपर्ने बताए।
'रवि लामिछानेमाथि कुनै जाहेरी नपरेको कुरा सर्वोच्चले गलत सावित गरेको छ। त्यसैले पार्टीले पनि तत्काल रवि लामिछानेविरुद्ध छानबिन गर्नुपर्छ। पासपोर्टको सबालमा पनि छानबिन गर्नुपर्छ। त्यसमा कहिल्यै चुनाव लड्न नमिल्ने कुरा पार्टीसँग सम्बन्धित भएकाले पार्टीको भविष्य जोडिएको छ। पार्टीलाई जोगाउनु पनि पर्नेछ,' उनले भने।
उनले त्यो छानबिन रवि क्लबबाट नभएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट हुनुपर्ने बताए। समितिमा पनि रवि क्लबबाहेक मानिसहरू राख्नुपर्ने उनले बताए। ढकालले आफ्नो निलम्बन कानुनसम्मत नभएकाले आफू अहिले पनि रास्वपाको महामन्त्रीमा कायमै भएको बताए। 'नेपालको संविधान, मूल्यमान्यता र दलसम्बन्धी ऐनअनुसार मेरो निलम्बनको प्रक्रिया मिलेको छैन। म अहिलेसम्म महामन्त्री थिएँ र छु। रवि लामिछनेको क्लबबाट मात्रै निष्कासित गरिएको हो,' उनले भने।
उनले पार्टी रवि लामिछाने क्लबमा परिणत गरेको र इलिटहरूको कब्जामा पुगेको दाबीसमेत गरेका छन्। केन्द्रीय कमिटी बैठक लाइभ गर्ने प्रस्ताव गर्दा रवि लामिछानेले सिंगो केन्द्रीय कमिटीलाई खबरदार भन्दै तर्साएको उनको आरोप छ।
आफूविरुद्ध उत्रिएर सिंगो केन्द्रीय कमिटीले नाङ्गो नाच देखाएको उनको आरोप छ। 'खबरदार लाइभको पक्षमा उभिएलास् भनेर रविले सिंगो केन्द्रीय कमिटीलाई तर्साए। मैले लाइभ नगर्ने हो भने कालो टेप लगाएर बस्छु भनेको थिएँ। त्यतिबेला उनीहरूले मसँग कुरा गर्न चाहेनन्। बरु मविरुद्ध उत्रिए। म कालोटेप टाँसेको बेला सभापति र सिंगो केन्द्रीय कमिटीले नाङ्गो नाच देखाए,' उनले भने। बैठक स्थगित गरेर आफूसँग वार्ता गरेको केही कुरा अर्कै हुने उनको दाबी छ। 'मैले पनि कुरा गर्न खोजेकै हो। तर, सभापतिले मसँग कुरा गर्न चाहेनन्,' उनले भने।
उनले रवि लामिछानेले कुनै कुराको पनि जिम्मा नलिने गरेको आरोप लगाए। लाइभको विषय पनि केन्द्रीय सदस्यहरूमाथि दोष थोपारिदिएको उनको आरोप छ। 'लाइभ गर्ने कुरामा मात्रै उहाँ पन्छिनुभएन। उहाँ त कुनै कुराको जिम्मा लिन चाहनुहुन्न। ग्यालेक्सीको जिम्मा सबै जीबी राईलाई थुपार्नुभयो। सरुवा बढुवा पनि आइजीले गरेको दोष लगाउनुहुन्छ,' उनले भने।
उनले जनताभन्दा ठूलो रवि लामिछाने नभएकाले आफू जनताको प्रश्नमात्रै गरेको बताए। ढकालले अर्को महिना फेरि प्रस्ताव यात्रामा निस्किने बताए। 'आगामी महिना प्रस्ताव यात्रा गर्दैछौं। त्यसमा मैले जनतासँग सोध्नेछु। मैले के बोल्न हुन्थ्यो के बोल्न हुँदैनथ्यो,' उनले भने।
ढकालले बाढी-पहिरोबाट पीडित जनताका लागि गृहमन्त्रालयबाट जुन रफ्तारमा काम हुनुपर्ने हो त्यसो हुन नसकेको बताएका छन्। ढकालले जनता बाढी र पहिरोमा फसिरहँदा सभापति लामिछाने पार्टीको बैठक राखेर आफूलाई कारवाही गर्ने कि नगर्ने भनेर दौडधूपमा लागेको आरोप लगाए।
ढकालले लामिछानेलाई हिजोआज प्रचण्ड, देउवा र ओलीको शैली मनपर्न थालेको भन्दै टिप्पणी गरे। उनले लामिछानेलाई लक्षित गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको शैली मनपर्नेलाई आफ्नो शैली बालापन लाग्न सक्ने भन्दै यसमा कुनै आपत्ती नभएको बताए।
उनले देउवा नेतृत्वमा सरकार बन्छ कि भनेर लामिछाने सरकारमा बसिरहेको जिकिर गरे।
'आजको रवि लामिछानेलाई प्रचण्डको शैली मन पर्छ। आजको रवि लामिछानेलाई कता/ कता ओलीको शैली मनपर्छ। देउवाको नेतृत्वमा सरकार बन्लाकी, ७६ (३) अनुसार सरकार बन्लाकि भनेर कतै टुसुक्क सरकारमा जान पाइलाकी भनेर अझैसम्म उहाँ सरकारमा बसिरहनु भएको छ,'उनले भने,'प्रचण्ड, ओली र देउवाको शैली मनपर्ने लामिछानेलाई मुकुल ढकालको शैली बालपना लाग्न सक्छ। लागोस् मलाई मतलब छैन।'
नेता ढकालले राजीनामा बुझाउन गएका रास्वपाका मन्त्रीहरू प्रधानमन्त्री प्रचण्डको कुरा सुनेर फर्किनुलाई बालापन भन्ने कि नभन्ने भन्दै प्रश्न गरे। उनले भने,'राजीनामा दिन भनेर बालुवाटार हिँडेका रवि लामिछानेहरू प्रचण्डको कुरा सुनेर यतिकै फर्किनुलाई बच्चापन भन्ने कि नभन्ने। अनि म बच्चापन भएँ कि रवि लामिछानेहरू बच्चापन भयो?'
पार्टी केन्द्रीय समिति बैठकमा आफ्नो प्रतिवेदनमाथि छलफल हुनुअघि आफूसँग छलफल नगरिएको गुनासो पोखे। बैठकअघि आफूले सार्वजनिक गरेको प्रतिवेदनको सारांश पनि सभापति लामिछानेको सल्लाहमै सार्वजनिक गरिएको उनले दावी गरे।
ढकालले आफूलाई पार्टीले गरेको कारवाहीको विधि र प्रक्रिया नमिलेको भन्दै आफू अझै पनि महामन्त्री रहेको जिकिर गरे। आफूलाई कारवाही गरेर रवि लामिछानेको एलिट क्लबले पार्टी कार्यालय कब्जा गरेकाले मिडियामा आउन बाध्य भएको उनको भनाइ छ।
उनले अब आफूले के बोल्ने वा नबोल्ने भन्ने सुझाव लिनका लागि आगामी महिना देशभर प्रस्ताव यात्रा सुरु गर्ने र जनताको घर जाने जानकारी दिए।
पार्टीको अनुशासनविपरीत 'अभद्र' र 'अमर्यादित' काम गरेको भन्दै रास्वपाले मंगलबार ढकाललाई साधारण सदस्य मात्रै रहनेगरी महामन्त्री,केन्द्रीय सदस्य र प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गरेको छ।
0 comment