काठमाडौं - कोशी प्रदेशमा पनि केन्द्रको नयाँ सत्ता समीकरणअनुसार सरकार पुनर्गठन गर्ने तयारी गरिएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले केन्द्रमा २८ गते नयाँ समीकरणअनुसार नयाँ सरकार बनेपछि त्यसको असर र प्रभावअनुसार कोशी प्रदेशमा सरकार पुनर्गठन हुने बताए। 

सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले तत्कालै कसैलाई सरकारबाट हटाउने आफ्नो चाहना नभए पनि केन्द्रमा नयाँ समीकरण बनेपछि कोशी प्रदेशमा पनि नेपाली कांग्रेससहितको सरकार बन्ने बताए। 

मुख्यमन्त्री कार्कीले सहमतिको सरकार बनाउने आफ्नो प्रयास भए पनि केन्द्रको समीकरणअनुसार नै प्रदेशमा सरकार बन्ने बताए। नयाँ समीकरणअनुसार सरकार बनेपनि प्रदेशमा रहेका मन्त्रालयको संख्या नबढाइने उनको भनाइ छ।

कोशी प्रदेशमा गत बैशाख २७ गते माओवादी केन्द्रका १३ जना सांसदहरूको समर्थनमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री बनेका थिए। १० सदस्यीय कोशी प्रदेश सरकारमा एमालेबाहेक माओवादीका ३ जना मन्त्री र एक जना राज्यमन्त्री छन्।