विपिको सिध्दान्त विपरित गई वामकांग संयुक्त जनआन्दोलन २०४६ को नेतृत्व गरि पंचायत ढाले पश्चात राजा वीरेन्द्रले अन्तरिम प्रधानमंत्री वन्ने प्रस्ताव गणेशमानलाई राखेका थिए तर उन्ले आफु होइन कृष्णप्रसादलाई प्रधानमंत्री वनाउनु पर्छ भनेर सिफारिस गरेको कुरा सार्वजनिक भएपछि गणेशमानको उचाइ निकै वढेको थियो प्रधानमंत्री Maker को रुपमा । तर उन्को लोकप्रियता खस्कन शुरु हुनथाल्यो जव उन्ले पारिवारिक मोह परित्याग गर्न सकेनन् । २०४७ सालको चुनावमा उन्की श्रीमती मंगलादेवी र छोरा प्रकाशमानले चुनाव हार्न पुगे । यता उन्ले सिफारिस गरी प्रधानमंत्री वनाएका कृष्ण प्रसादले पनि चुनाव हारेपछि कांग्रेसमा गिरिजा हावी हुन पुगे । गणेशमान र कृष्णप्रसाद दुवै काग्रेसका नाममात्रका नेता वन्न पुगे । प्रधानमंत्री वने पश्चात गणेशमानले सिफारिस गरेका दुर्गेशमानलाई राजदुत वनाउन गिरिजाले इन्कार गरेपछि गणेशमान गरिजाको द्धन्द सतहमानै आयो । पछि दुर्गेशमानलाई राष्ट्रिय योजना आयोगको सदस्य वनाएपछि उनीहरु दुइ वीचको झगडा केहि शान्त भएतापनि आफुले भने बमोजिम नभएपछि अन्तत गणेशमान कांग्रेस पार्टी छोडन वाध्य भए । गिरिजा कांग्रेस न विपि न गणेशमान कसैको बाटोमा लागेन, हिजो माले मसाले मण्डले एकै हुन भन्ने गिरिजा अन्तत माओवादी खेमामा पुगी गणतन्त्रको संवाहक वन्न पुगे । धमिजाकाण्डबाट भ्रष्टाचारमा प्रवेश गरेका गिरिजा सुजाता मण्डलीले प्रजातन्त्र र गणतन्त्रलाई भ्रष्टाचारको पर्यायवाची वनाइदिए पश्चात नेपालमा भ्रष्टाचार संस्थागत हुन पुग्यो । धमिजा, चेज, लाउडा, वाइडवडि, सुन, वाख्रा, भुटानी शरणार्थी, ललिता निवाश, गिरिवन्धु चियावगान र अन्तमा आएर वालमन्दिर जग्गा काण्ड सम्म आइपुग्दा कांग्रेस देखि एमाले हुंदै माओवादी सम्म सबै भ्रष्टाचारको आहालमा डुवेको तथ्य वाहिर आयो । सबै भ्रष्टाचार गर्ने भएपछि तै चुप मै चुपको स्थिति सृजना हुदा सिआईवि काम विहिन हुन पुगेको छ । गणेशमानकी छोरी रीता वैद्यको मण्डली वाल मन्दिर जग्गा काण्ड परेको प्रमाण सहित सिआइवीले पक्राउ पुर्जि जारी त गर्यो तर यो लेख तयार पारुञ्जेलसम्म कोहि पनि पक्राउमा परेका छैनन । सहकारी काण्डमा मुछिएका गृहमंत्री लामिछाने लाजै नमानी झण्डा हल्लाएर हिडछन भने रीता वैद्य र उँन्को मण्डलीलाई कस्ले गर्ने कारवाही ? 

मान्छेहरु भन्छन राजाको लोकप्रियता राजावादीहरुले वढाइरहेका छन । तर म भन्छु राजाको लोकप्रियता वढाउने काम राजतन्त्र विरोधीहरुले नै गरिरहेका छन । यदि यी नेता भनाउदा जन्तुहरु राजा भन्दा वढी राष्ट्रवादी, राजा भन्दा वढी सादगी, राजा भन्दा वढी सक्षम र राजा भन्दा वढी पारदर्शी र नैतिक हुन्थे भने कहाबाट वढथ्यो राजाको लोकप्रियता ? २०१७ सालमा वहुदलीय ब्यवस्था अन्त्य गरी निर्दलिय पंचायत शुरु गर्दा राजा महेन्द्रले वहुदलीय ब्यवस्था नेपालको माटो सुहाउदोे हुन सक्तैन भनेका थिए । त्यो कथनलाई यी नेताहरु भनाउदाहरुले अहिले आएर सत्य सावित गरिदिएका छन । स्थानीय चुनावमार्फत उदाएका वालेन, हर्क अनि गोपीले प्राप्त गरेको मत, हासिल गरेको विजय र दिनपरदिन वढदै गएको उनीहरुको लोकप्रियतालाई हेर्ने हो भने कतै जनता पनि पुन निर्दलिय ब्यवस्था तर्फनै आर्कर्षित त हुदै छैैनन् भन्ने विश्लेषण गर्न सकिन्छ । यो परिस्थिति सृजना गर्ने को हो ? कस्को कारण देशले प्रतिगमन नै ठीक भन्न खोज्दैछ ?   

संघीयता आयो, तर स्थानीय विकाश आफैले पहिचान र संकलन गरेको श्रोतबाट हुनु पर्छ भन्ने सोच आएन, केन्द्रिय अनुदानबाटै स्थानीय  र प्रदेश सरकार चल्ने हो भने किन चाहियो संघीयता? सबै दलका सबै नेताहरु काठमाण्डौमा वसी सुविधा भोग गर्ने हो भने संघीयताको सोच अनुरुपको सबै क्षेत्रको समानुपातिक विकाश कहिले हुने? नेपालको संघीयताले त सिहंदरवारमा  हुने भ्रष्टाचारलाई मात्रै प्रदेश हुदै स्थानीय स्तरसम्म पुराएको छ । यसप्रकार देश भ्रष्टाचारमय भएको हुदा कस्ले कस्लाई कारवाही गर्ने ? कारवाही गर्छु भनेर जनमत बटुलेर सत्तामा आएकाहरुले पनि जुन जोगि आए पनि कानै चिरेको भन्ने उखानलाई चरितार्थ गराइदिएका छन् । संसदीय ब्यवस्थामा दल चलाउन, चुनाव लड्न, कार्यकत्र्ता पाल्न पैशा चाहिन्छ, । राजनीतिलाई नै पेशा माने पछि भात त खानै पर्यो, घरजग्गा जोडनै पर्यो, गाडी चढनै पर्यो अनि त्यस्को लागि सजिलो कमाइ कहाबाट हुन्छ भनेर सोच्नै पर्यो । अनि भ्रष्टाचार र कमिशन तन्त्र मौलाउछ नै ।  कम्यूनिष्ट भन्नेहरु कमाउनिष्ट हुदै नव सभ्रान्त कुन देशमा वनेकाछन भनेर कसैले प्रश्न सोध्यो भने जवाफ नेपाल भन्ने अवस्था आएको छ । आफुलाइ समाजवादी भन्नेहरुले नवउदारवादलाइ अंगाल्दै निजिकरणको नाममा कुन देशमा उद्योग धन्दाहरु कमिशन खाएर वेच्छन भनेर कसैले सोध्यो भने त्यस्को जवाफ पनि नेपालनै आउछ । यूवा युवतीको रगत पशिना र इज्जत निर्यात गरी कमाएको पैशाले आयात गरी हात मुख जोर्न पर्ने देश कुन हो भनेर सोध्दा त्यस्को जवाफ पनि नेपाल नै आउछ । स्वदेशको सरकार विदेशीकोलागि कम्र्फट हुनु पर्छ भन्ने देश कुन हो भने त्यस्को जवाफ पनि नेपाल आउछ ।  के गणतन्त्र र लोकतन्त्र भनेको यहि हो त ?